देविस्थानमा एमालको चुनवी सभाः युवाहरुलाई उद्यमशिल बनाउने उम्मेदवारको प्रतिवद्धता

म्याग्दी । नेकपा एमालेले म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा चुनावी सभा गरेको छ । आइतवार पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवार सहित बृहत चुनावी सभा सम्पन्न गरेको हो ।

सभालाई सम्वोधन गर्दै नेकपा एमालेका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जनताको दुख बुझ्ने रे देशमा विकासको लहर ल्याउने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ । अहिले गठवन्धनको सरकारले जनहितको काम गर्न नसकेको भन्दै उहाँले देशमा बिकृति तथा अनियमितता मौलाएको बताउनुभयो ।

देश अस्थिरतातर्फ धकेलिएकाले समृद्ध नेपाल सुखि नेपालीको सपनालाई साकार पार्नका लागि स्थानीय तहदेखि प्रदेश र संघ सम्म नै नेकपा एमालेको जित आवश्यक भएको शर्माको भनाई थियो ।
उहाँले मालिकामा अध्यक्ष पदका उम्मेदवार बेग प्रसाद गर्बुजाको नेतृत्वमा रहेको एमालेको उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी बनाउन देविस्थानबासीहरुमा अनुरोध गर्नुृभएको छ ।

कार्यक्रममा नेकपा एमालेबाट पालिका अध्यक्ष पदका उम्मेदवार बेग प्रसाद गर्वुजाले युवाहरुलाई उद्यमशिल बनाई स्वरोजगार बनाउने प्रतिवद्धता जनाउनुभएको छ । युवाहरुमा सिप, कला तथा क्षमताको विकास गरि आत्मनिर्भर बनाउने योजना बनाएको बताउँदै यसका लागि गाउँमा भएका बाँझो जग्गामा खेती गर्ने, कृषि तथा पशुपालनमा अनुदान उपलब्ध गराउने, व्यवसायमा अनुदानको व्यवस्था लगायतको कार्यक्रम संचालन गर्न सकिने बताउनुभयो ।

अध्यक्षका उम्मेदवार गर्बुजाले बालबालीकाको शिक्षा, पोषण, निशुल्क स्वास्थ्य विमा, सामाजिक सुरक्षा भत्तालाई घरघरमा बितरण गर्ने, बिद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउने, शिक्षालाई प्रविधिमैत्री बनाउने लगायत योजना अघि सार्नुभएको छ ।

गाउँपालिकाको केन्द्रमा क्याम्पस संचालन गर्ने, १५ शैयाको अस्पताल निर्माण गर्ने, सवै वडाका स्वास्थ्यचौकीलाई जनशक्ति तथा पूर्वाधार थप गरि व्यवस्थित बनाउने, दरवाङमा चिस्यान केन्द्र निर्माण गरि कृषि उपज भण्डारण गर्ने लगायतका योजना बनाउनुभएका गर्वुजाले देविस्थानमा अलपत्र परेको बृहत खानेपानीलाई तुरुन्त निर्माण थालनी गर्ने, वृहत सिँचाईको व्यवस्था गर्ने देविस्थान देखि ताकम धारापानी जोड्ने लामे झोलुङे पुलको निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उपाध्यक्षका उम्मेदवार लक्ष्मी पुनले जनताको आवज बोल्दै र समस्या सुन्दै सेवकको रुपमा काम गर्ने बताउनुभयो । उहाँले समाजका उत्पीडित समुदायको उत्थानका लागि सशक्तिकरणका कार्यहरु गर्ने योजना सुनाउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले देविस्थानमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सवैको क्षेत्रमा उल्लेख्य विकासका गतिविधि संचालन गरि नागरिकहरुको जीवन स्तर उकास्नका लागि नेकपा एमालेलाई जिताउन अनुरोध गर्नुभयो ।

वडा अध्यक्षका उम्मेदवार कुल बहादुर घर्ति मगरले देविस्थानको मुहार फेर्न सूर्य चिन्हमा मतदान गरि आफु सहितको टिमलाई बिजयी बनाउन अनुरोध गर्नुभयो । कार्यक्रम नेकपा एमाले मालिका गाउँपालिका कमिटीका उपसचिव भुपेन्द्र नेपालीको संचालनमा सम्पन्न भएको थियोे । विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको सभामा देविस्थानबासीको रहरलाग्दो उपस्थिति रहेको थियो ।

You can share this post!

किटिनीमा कांग्रेसको चुनावी सभा

दरवाङमा माओवादीको चुनावी सभाः मालिका बासीको भव्य उपस्थिति

Related posts