मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण

म्याग्दी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमवार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको हो ।

श्रेष्ठले महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम तथा कार्यदिशाको बिषयमा, सुवेदीले संगठनको काम, भूमिका र जिम्मेवारीको बिषयमा र थापाले स्थानीय तह निर्वाचनको तयारीका बिषयमा प्रशिक्षण दिनुभएको पालिका कमिटि सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश कमिटि सचिवालय सदस्य श्रेष्ठले मंगलामा नेकपा एमाले नै पहिलो शक्ति भएको दावि गर्नुभयो । एमालेको नेतृत्वमा स्थानीय सरकार संचालन भएको मंगलामा यो पाँच बर्षमा रहर लाग्दो विकास भएको भन्दै समृद्ध मंगलाको परिकल्पनालाई पूर्णता दिनका लागि एकपटक फेरी एमालेलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।

नेकपा एमाले मंगला गाउँपालिका कमिटिका अध्यक्ष सतप्रसाद रोकाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि पालिकाका टोल टोलमा पुगेर संगठन निर्माण तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाईएको बताउनुभयो ।

रोकाले गाउँटोलमा चुनावि सक्रियता बढाउनका लागि वडा कमिटि तथा टोल कमिटिहरुलाई अनुरोध समेत गर्नुभएको छ । कार्यक्रममा मंगला गाउँपालिकाका ५ वटै वडाका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पालिका कमिटि अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष प्रेमा अधिकारीको स्वागत र सचिव शर्माको संचालनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

स्नातक तहमा कम्प्यूटर विषयको कक्षा प्रारम्भ

क्याम्पसमा नयाँ विद्यार्थीलाई अभिमुखीकरण

Related posts