‘हावाबाट पनि सर्न सक्छ कोरोना’

अमेरिकाको केन्द्रीय रोग नियन्त्रण केन्द्र (सीडीसी)ले कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिन सक्ने र केही घण्टासम्म हावामा नै रहन सक्ने बताएको छ । सीडीसीले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरस हावामा केही घण्टासम्म रहन सक्ने उल्लेख गरिएको छ । यद्यपि कोरोना सर्ने मुख्य स्रोत भने खोक्दा, हाच्छ्यूँ गर्दा र गफ गर्दा निस्किने ठूला छिटा नै रहेको सीडीसीले बताएको छ ।
संक्रमित व्यतिसँग नजिक भएका मानिसलाई संक्रमणको जोखिम बढी हुन्छ । राम्रोसँग हावा पास नहुने बन्द कोठामा बाहिरको तुलनामा संक्रमणको जोखिम बढी हुन्छ ।
गत महिना सीडीसीले निर्देशिकाको नयाँ प्रारुप तयार पारेको थियो । जसमा हावाको माध्यमबाट पनि कोरोना फैलिन सक्ने भन्दै चेतावनी दिइएको थियो । तर, पछि त्यसमा त्रुटि देखिएको भन्दै हटाइएको थियो ।
त्यति नै बेला विश्व स्वास्थ्य संगठनले निश्चित सीमाभित्र हावाको माध्यमबाट पनि कोरोना संक्रमण हुन सक्ने तर हावाबाट कसरी कोरोना फैलिरहेको छ भन्ने विषयमा भने कुनै प्रमाण नपाइएको बताएको थियो ।
पछिल्लो समय संक्रमितभन्दा दुई मिटर टाढा रहेका मानिसमा पनि कोरोना संक्रमण पुष्टि भएको उदाहरण भेटिएका छन् । साथै संक्रमित मानिस बसेको स्थानको हावाबाट पनि एक मिनेटदेखि एक घण्टाको बीचमा संक्रमण भएको पाइएको छ ।
सीडीसीले यस किसिमको संक्रमण दुर्लभ रहेको बताएको छ । साथै हात धुने, मास्क लगाउने र सामाजिक दुरी कायम राख्नेजस्तो सुरक्षा सतर्कता भने जारी राख्न आग्रह गरेको छ । सीडीसीले हावाबाट सर्न सक्ने संक्रमणको जोखिम कम गर्न थप कुनै सतर्कता अपनाउनु जरुरी नरहेको बताएको छ ।
स्रोत ः बीबीसी

You can share this post!

कोरोना महामारीका कारण फ्रेन्चाईचिज लिग मारमा

जन्मदिनको अवसरमा मृगौला पिडित जुग्जाली र कैदीबन्दी लाई ५० हजार सहयोग

Related posts