म्याग्दीमा तत्काल विद्यालय बन्द नगरिने

म्याग्दी । म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागु गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयले बार्षिक विदामा समायोजन हुने गरि शैक्षिक संस्थाहरु बन्द गर्न भनेपनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्ला स्थित सरोकारवालाहरुको सल्लाह बमोजिम तत्काल विद्यालयहरु बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । डिसिएमसीका संयोजक समेत रहनुभएका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोहि कार्यविधि बमोजिम कोरोना संक्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिनुभयो ।

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामाग्रीसंगै जनशक्तिलाई तयारी अबस्थामा राख्ने निर्णय समेत गरेको छ । जिल्लाव्यापी रुपमा कोरोना संक्रमणबाट बच्च र बचाउन तपाईको मास्क खोई अभियान चलाउने,सञ्चार माध्ययम मार्फत प्रचार प्रसार गर्ने, सामाजिक र भौतिक दुरी कायम गर्न लगाउने, २५ जना भन्दा बढी मानिस जम्मा भएर कुनैपनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेलाहरु नगर्ने र गर्न रोक लगाउने निर्णय समेत गरिएको छ ।

स्मार्ट लकडाउन २०७८ मा भएको सुचक अनुसार जोखिम मुल्यांकन र लकडाउनको तह विश्लेषण गरि स्थानीय तहहरुले कार्यान्वयन गर्ने र डिसिएमसीलाई नियमित रुपमा जानकारी गराउने समेत निर्णय भएको छ । बैठकमा जिल्ला स्थित राजनीतिक दल, स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बैठकमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिरीका अध्यक्ष थमसरा पुन मगर,मंगलाका उपाध्यक्ष सिर्जना केसी,मालिकाका उपाध्यक्ष खरमायाँ विटालु र अन्नपूर्णका उपाध्यक्ष केशमायाँ मगरले स्थानीय तहमा कोभिड रोकथाम र उपचारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

स्थानीय तहमा तत्काल विद्यालय बन्द भन्दा पनि चेतनामुलक अभियानलाई प्राथमिकता दिन जनप्रतिनिधि सहित सरोकारवाला निकायले सुझाव दिएपछि डिसिसिएमसीले नियमित विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकमा नेकपा एमालेका अध्यक्ष देबेन्द्र केसी, नेपाली कांग्रेसका सचिव हिरा पुन, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जाली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा संघ संस्थाका प्रतिनिनिधले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्डको पालनालाई कडाइ गर्नुपर्नेमा जोड दिनुभएको थियो भने स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले खोपको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई विद्यालयमा खोप लगाउने अभियान जारी रहेकाले अभियान नै प्रभावित हुने अवस्था देखिएकाले तत्काल विद्यालय बन्द नगरी खोप अभियानलाई नै प्राथमिकता दिनुपर्नेमा सहभागीहरको सुझाव थियो ।

You can share this post!

कोरोना संक्रमणको जोखिमः बेनीमा हुन लागेको माघे संक्रान्ति मेला स्थगित

अनेरास्ववियु म्याग्दीको संगठन बिस्तार अभियान तीब्र ,

Related posts