बेनी–जोमसोम–कोरला सडकमा आठ वटा पुल निर्माण

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् ।

आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको बताउनुभयो । “नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँच वटा पुल बनाउन बनाउन आवश्यक छ ।”

म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो पुल निर्माण गरेको छ ।

छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । चालिस मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल भने अलपत्र परेको छ ।

आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएकाले नमूना परिवर्तनसहित दूरी बढाएर नयाँ प्रक्रियाबाट पुल बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताउनुभयो । “चालिस मिटर लम्बाइको रुप्से खोलाको पुलको दुबैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम लम्बाइ बढाउन लागिएको छ”, उहाँले भन्नुभयो, “भूगोल र प्राकृतिक विपद्का कारण नमूना संशोधन र पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।

” बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । पाण्डाखोलामा पुल बनाएकोभन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव गरिएको छ ।

 

You can share this post!

ओमिक्रोन फैलिएका देशबाट आउँदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नु पर्ने नियम स्थगित

नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ जिल्ला अधिवेशन सुरु

Related posts