राष्ट्रिय टिमबाट चर्चित भएपछि लिग खेल्न आएका मनिष र आयुष

कुनै पनि देशको लिग खेलकुदलाई राष्ट्रिय टिमको लागि खेलाडी उत्पादन गर्ने थको रुपमा लिइन्छ । घरेलु लिगले नै त्यो देशको राष्ट्रिय टिम कस्तो बन्छ भन्ने संकेत गर्छ ।तर नेपाल जस्तो मुलुकमा लिगको प्रदर्शनले राष्ट्रिय टिममा खासै असर गरेको देखिँदैन । लिगमा राम्रो गर्ने खेलाडीले पनि राष्ट्रिय टिममा त्यो अनुसारको खेल देखाउन सकेका छैनन् । केही खेलाडी लिगमा राम्रो गर्न नसके पनि राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन गरेका छन् ।

अझ केही त यस्ता खेलाडी पनि छन् जो शीर्ष डिभिजनको लिग नै नखेली सिधै राष्ट्रिय टिमबाट खेले र गोल पनि गरे । त्यसपछि बल्ल ए डिभिजन लिग खेल्न अनुबन्ध भए । ती खेलाडी हुन् मनिष डाँगी र आयुष घलान । कुवेती प्रशिक्षक अबदुल्लाह अलमुताइरीको आगमनपछि उनले नाम भन्दा पनि फिट खेलाडीलाई राष्ट्रिय टिममा स्थान दिए र खेल्ने अवसर दिए ।

त्यही अवसर पाउनेमा मनिष र आयुष रहे । अलुमताइरी आएपछि यी दुई खेलाडी नियमित राष्ट्रिय टिममा छन् । राष्ट्रिय टिममा प्रदर्शन पनि राम्रो गरेका छन् र चर्चा पनि पाएका छन् ।मंसिर ३ गते सुरु भएको शहीद स्मारक ए डिभिजन लिगका लागि मनिष गत वर्षको च्याम्पियन टिम मछिन्द्रमा अनुबन्ध भएका छन् भने आयुष थ्रीस्टार क्लबमा आबद्ध भएका छन् । यी दुबै ठूला क्लब उपाधिको दाबेदार पनि हुन् ।

मनिष र आयुष दुवै एकै पटक राष्ट्रिय टिममा परेका हुन् । अर्को संयोग दुवै खेलाडी एकै सिजन लिगमा पनि डेब्यु गर्दैछन् ।मनिषलाई अनुबन्ध गर्न ए डिभिजनका धेरै क्लब पछि लागे पनि अन्तिममा मछिन्द्र क्लबले बाजी मार्‍यो ।दक्षिण कोरियामा फुटबल कला सिकेका मनिषले अलमुताइरीको आगमनपछि राष्ट्रिय टिममा स्थान बनाए । राष्ट्रिय टिममा परेपछि पहिलो खेलमै इराकविरुद्ध डेब्यु गरेका उनले त्यही खेलमा गोलसमेत गरे ।

गत वैशाख(जेठमा भएको नेपाल सुपर लिग एनएसएलमा विराटनगर सिटीबाट वैकल्पिक खेलाडीको रुपमा खेलेपनि अलमुताइरीले उनलाई राष्ट्रिय टिममा राख्दै पहिलो रोजाईमै खेलाए । मनिषले पनि निराश पारेनन् र इराक जस्तो बलियो टिम विरुद्ध डेब्यु खेलमै गोल गरे ।

मनिषले असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा घरेलु टिम माल्दिभ्स विरुद्ध पहिलो खेलमै गोल गर्दै नेपाललाई जिताएका थिए । वैल्कपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

मछिन्द्रमा प्रशिक्षक प्रवेश कटुवालले मनिष क्षमतावान खेलाडी भएको बताए । ‘ऊसंग अरु भन्दा एक्स्ट्रा क्षमता छ । यसअघि थ्रीस्टारबाट वागमती गोल्डकप खेल्दा पनि राम्रो खेलेको थियो । साफमा माल्दिभ्सविरुद्ध गरेको गोलले पनि देखाउँछ कस्तो खेलाडी भनेर’ उनी भन्छन् ।

प्रशिक्षक कटुवालले ए डिभिजन लिगमा पनि मनिषबाट त्यस्तै प्रदर्शन चाहेका छन् । ‘अब लिगमा पनि मनिषले राम्रो खेलोस् भन्ने अपेक्षा छ ।’दक्षिण कोरियामा खेल्दै चर्चा कमाएका उनले यसअघि नेपालमा खालीबारी क्लबबाट सी डिभिजन लिग खेलेका थिए । त्यहीबाट चर्चा कमाएका मनिषले दुई वर्षअघि नेपालमै भएको भने साफ यू(१८ च्याम्पियनसमेत खेलेका थिए । दक्षिण कोरियामा बस्दै आएका उनी नेपालमा नागरिकता बनाउन आएका बेला सी डिभिजन लिग खेलेका थिए

एनएसएलमा विराटनगरले उनलाई हिडन ट्यालेन्टको रुपमा टिममा अनुबन्ध गरेको थियो र उनले मैदानमा पनि त्यही खालको प्रदर्शन देखाए ।उनले एनएसएलमा विराटनगरका लागि लिगका सबै ६ खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै खेलेका थिए । पहिलो रोजाईमा पर्न नसकेपनि उनले अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पछिल्लो समय राष्ट्रिय टिममा पनि अलमुताइरीले उनलाई वैकल्पिक खेलाडीको रुपमै प्रयोग गर्न थालेका छन् । उनी अट्याकमा जुनसुकै पोजिसनमा समेत खेल्छन् भने बढी जसो विंगरको भूमिकामा खेल्छन् ।मनिषले दक्षिण कोरियाको चौथो श्रेणीको सेमी प्रोफेसनल लिग पोचेन सिटिजनबाट युथ करियर सुरु गरेका थिए ।

गत वैशाख(जेठमा भएको पहिलो संस्करणको नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी हुन् आयुष घलान । सुपर लिगअघि घरेलु फुटबलमा विरलै नाम सुनिएका आयुषले एनएसएलमा पोखरा थण्डर्सबाट उत्कृष्ट प्रदर्शन गर्दै धेरैको मन जिते ।

एनएसएलमा पहिलो खेलमा वैकल्पिक खेलाडीको रुपमा ६ मिनेटमात्र खेलेका उनले त्यसपछि लिगका पाँच खेलमा पहिलो रोजाईँमा रहँदै खेलेका थिए । हिडन ट्यालेन्टको रुपमा थण्डर्समा समावेश भएका आयुष युवा स्टार बनेर निस्किए । उनले यसअघि बी डिभिजन लिगमा खुमलटारबाट खेलेका थिए । छोटो समयै उनी राष्ट्रिय टिममा पर्न सफल भएका हुन् ।

एनएसएलकै क्रममा उनी प्रशिक्षक अलमुताइरीको रोजाइमा परेका थिए । त्यसपछि जेठमा नेपालले इराकसंग मैत्रीपूर्ण खेल र विश्वकप छनोटका लागि टिम घोषणा गर्दा उनी टिममा परे । आयुषले कुवेतमा भएको विश्वकप छनोटमा अष्ट्रेलियाविरुद्ध अन्तिम समयमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । त्यसयता उनले घरेलु मैदानमा भारतविरुद्धको मैत्रीपूर्ण खेल पनि खेले । अनि माल्दिभ्समा असोजमा भएको साफ च्याम्पियनसिप पनि खेले । उनले साफमा श्रीलंकाविरुद्ध डेब्यु गोल समेत गरे ।

पहिलो पटक ए डिभिजन खेल्न लागेपनि आयुषले धेरै दबाब नभएको बताए । ‘त्यस्तो दबाब नै भन्ने छैन । टिममा सिनियर दाइहरु हुनुहुन्छ । उहाँहरुले सहयोग गरिरहनुभएको छ’ आयुषले भने ।बरु फेरि राष्ट्रिय टिममा पर्न र स्थान जोगाइराख्न भने दबाब हुने उनले बताए । ‘फेरि राष्ट्रिय टिममा पर्न भने केही दबाब हुन्छ । पहिला पर्‍यो भनेर ढुक्क हुने अवस्था छैन’ उनले भने । थ्री स्टारले ललितपुरे डर्बीमा च्यासल युथ क्लबसंग पहिलो खेल खेल्दै लिग सुरु गर्नेछ । आयुष पहिलो खेल महत्वपूर्ण हुने बताए ।

 

You can share this post!

धौलागिरी अस्पतालमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया

महारानी थान नजिक सरकारी गाडी दुर्घटना

Related posts