सुदूरपश्चिममा बाढीपहिरोमा परेर १५ जनाको मृत्यु, २८ बेपत्ता

३ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार डोटीमा ९ जना, बैतडीमा चार जना र डडेलधुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले डोटीको जोरायल गाउँपालिका–४ का अन्दाजी ४२ वर्षीय शेरबहादुर बिक, उनका छोरा १८ वर्षीय मोहन बिक, १३ वर्षीया छोरी पवित्रा बिक र मामाघरमा आएका सोही ठाउँका १६ वर्षीय रविन बिकको पहिरोमा परेर मृत्यु भएको जानकारी दिनुभयो  ।

डोटीकै जोरायल गाउँपालिका–३ का अन्दाजी ६३ वर्षीय जोगी सार्की, शिखर नगरपालिका–११ की अन्दाजी ३६ वर्षीया मन्दरा बलायर, सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई १४ वर्षीय सागर कुन्जेडा र १० वर्षका आशिष कुन्जेडाको पनि पहिरोमा च्यापिएर मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताउनुभयो ।

बैतडीमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परेर स्थानीय भालु पार्कीका छोरा बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया छोरा सोम पार्कीको मृत्यु भएको हो।

सुर्नया गाउँपालिका–५ को बिष्टपालीमा स्थानीय खड्कसिंह बिष्टको भान्छा कोठा पहिरोले पुरिएर उनकी दिदीसासु पर्ने ७१ वर्षीया परुदेवी महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका विष्णु अवस्थी र ६५ वर्षीया नरपति शाहीको मृत्यु भएको हो ।

You can share this post!

काठमाडौं–विराटनगर उडान रद्ध

लुम्बिनीमा ३६ हजार हेक्टरमा काटेको धान डुबानमा

Related posts