९० प्रतिशत चिकित्सक संक्रमित भएपछि अस्पताल बन्द

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको उपचार सेवा बन्द एक हप्ताको लागि बन्द गरिएको छ ।
अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गर्दा ९० प्रतिशतमा संक्रमण पुष्टि भएसंगै उपचार सेवा बन्द गरिएको हो ।
कर्मचारी तथा चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासका अनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सबै सेवा बन्द हुनेछन् । कोरोना संक्रमित बढेसँगै बाँकेलगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको नेपालगन्ज उपमहानरपालिकाका प्रमुख डा। धवलशमशेर राणाले बताए ।
उनले जनशक्ति र बेड अभाव भएको जानकारी प्रदेश र केन्द्रलाई दिए पनि सम्बोधन नभएको बताए । उनले बाँकेको आवाज छिटो सम्बोधन गर्न आग्रह गरे ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको छ । कोहलपुर नगरपालिकाले आइतबार राति १२ बजेदेखि वैशाख १९ गते मध्यरातिसम्म लकडाउन गरिएकोछ ।
यसैबीच, एकैदिन बाँकेमा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा २ सय ८८ जनाको जाँच गर्दा २ सय ४ जना, मेडिकल कलेजमा १ सय ५८ जनाको जाँच गर्दा १ सय १८ जना, बागेश्वरी ल्याबमा एक सय ४० जनाको जाँच गर्दा ९३ जना र भारतबाट आएका ६९ जनालाई नाकामा जाँच गर्दा १४ जनालाई कोरोना पुष्टि भएको हो ।

नेपाल प्रेस बाट

You can share this post!

सोमबारका परीक्षा सञ्चालन भए

बुधबारदेखि कास्कीमा पनि निषेधाज्ञा

Related posts