परराष्ट्रमन्त्री र आपूर्तिमन्त्रीद्वारा कोरला नाका खोल्ने विषयम स्थलगत निरीक्षण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छिमेकी देश चीनसँग सीमा जोडिएको मुस्ताङ–तिब्बत कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्रीद्वयले बुधबार काठमाण्डौबाट हेलिकप्टरमार्फत मुस्ताङ पुगेर कोरला नाका, सीमास्तम्भ र युरेनियमको अवस्थाबारे निरीक्षण गर्नुभएको हो ।
सीमा नाकाको तिब्बती भूभागमा चीन सरकारले धमाधम भौतिक पूर्वाधारहरु बनाइरहेको अवस्थामा नेपालतर्फ पनि पूर्वाधार निर्माण गर्न तथा नाका खोल्ने विषयमा मन्त्रीद्वारा स्थलगत निरीक्षण भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
मन्त्रीद्वयले सीमा नाकाको स्थलगत निरीक्षणका साथै लोमान्थाङमा रहेको युरेनियम पहाडको समेत अनुगमन गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।
नाकाको निरीक्षणपछि उपल्लो मुस्ताङको लोमान्थाङमा स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिमा तीव्रता, नेपालतर्फको भूमिमा पूर्वाधार स्थापना र सीमा नाका खोल्नका लागि जोड दिइने बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अन्तर्राष्ट्रिय व्यापारका लागि कोरला नाका खोल्न महत्त्वपूर्ण हुने भएकाले यसलाई विकास गरी व्यवस्थित रुपमा सञ्चालन गरिने बताउनुभयो ।
कोरला नाकाको निरीक्षणमा मन्त्रीद्वयसँगै परराष्ट्र सचिव, उद्योग सचिव एवं मुस्ताङ जिल्लाबाट सङ्घ र प्रदेशमा निर्वाचित सांसदहरुको उपस्थिति थियो । मन्त्रीसहितको टोलीले चीन तथा नेपाल दुई देशबीच व्यापारिक नाकालाई कसरी प्रवर्द्धन र विकास गर्न सकिन्छ भन्नेबारेमा स्थलगत अध्ययन तथा निरीक्षण गर्न सीमा नाका कोरला पुगेको जनाइएको छ ।
कोरला नाकामा जिल्ला सुरक्षा समितिसहित प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, महेन्द्र थकाली, चन्द्रमोहन गौचन कोरला नाका पुग्नुभएको थियो ।
सरकारले यसअघि कोरला नाकाको सुरक्षालाई लक्षित गरेर लोमान्थाङ गाउँपालिकाको छोसेरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिसकेको छ । अहिले सीमा नाकाको नेपालतर्फको भूमिमा २०१९ सालमा गाडिएको २४ नम्बर पिलर मात्रै रहेको छ ।
उज्यालोबाट

You can share this post!

बेनीमा होटेल क्वारेन्टाइनमा बसेका १ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि

ताकम बाट पोखरा उपचारका लागि गएका ८६ बर्षका एक वृद्धामा कोरोना पुष्टि

Related posts