मुन्द्रेको कमेडी क्लब’बाट किन हटिन् दीपाश्री ?

कश्मिरको पुलवामा आक्रमणमाथि गरेको टिप्पणी विवादमा परेपछि गत वर्ष भारतको चर्चित कमेडी कार्यक्रम ’द कपिल शर्मा शो’बाट नवजोत सिंह सिद्धू निकालिएका थिए । आतंककारीको कुनै जात र धर्म नहुने भन्दै आक्रमणका लागि कुनै देश वा व्यक्तिलाई दोषी भन्नु गलत रहेको राय राखेपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भयो । उनी ट्रोलका शिकार बने ।
सिद्धू पाकिस्तानप्रति नरम देखिएको भन्दै धेरैले उनलाई ’द कपिल शर्मा शो’बाट निकालिदिनुपर्ने कुरा राखे । उनी शोमा रहिरहे कार्यक्रम नै नहेर्ने भन्दै दर्शक सामाजिक सञ्जालतिर खनिए । त्यसपछि दर्शकको ’मुड’ हेरेर च्यानलले उनलाई शोबाट हटाइदियो ।
यो सिद्धुकैजस्तो केस त होइन तर दीपाश्री निरौला जीतु नेपालको ’मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएकी छिन् । अब शोको दोस्रो सिजनमा उनको ठाउँमा अभिनेत्री करिश्मा मानन्धर देखिने भएकी छिन् । पछिल्लो समय दीपा ’महानायक’ विवादमा मुछिएकी थिइन् । राजेश हमालबारे दिएको अभिव्यक्तिकै कारण सामाजिक सञ्जालमा उनको आलोचना गरिएको थियो । विवादका क्रममा आएका नकारात्मक टिप्पणीले आफू ’डिप्रेसन’को नजिक पुगेको पनि उनले कान्तिपुरलाई बताएकी थिइन् ।
विवादपछि नै उनी ’मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएको समाचार बाहिरियो । विवादकै कारण उनलाई निकालेको भन्ने चर्चा पनि चल्न थालेको छ । विवादकै कारण आफूप्रति नकारात्मक भएका दर्शकका कारण कार्यक्रमलाई असर नगरोस् भनेर कार्यक्रमबाट बाहिरिएको दीपा बताउँछन् । ’विवादपछि जति दर्शक मप्रति नकरात्मक हुनु भएको छ ती दर्शकले जीतुलाई असर गर्ला कि भनेर डर लाग्यो । अरु त केही होइन । जीतु बनिनु नै मेरो लागि खुशीको कुरा हो । जीतुको कार्यक्रम नबिग्रियोस् भनेर म आफैं पछाडि सरेंको हो,’ उनले भनिन्, ’म फिल्म बनाउँछु, यताको राम्रो नराम्रो मलाई थाहा हुन्छ नि त । जीतुको हकमा उसका लागि प्रमुख भनेको कार्यक्रम नै हो । त्यसैले मेरो कारणले भोलि उसलाई नानाथरिका कुरा आउला भनेर सल्लाह गरेरै कार्यक्रम छोडें ।’
पहिलो सिजनमा आफूले कार्यक्रम अवधिभर रमाइलो गरेको बताउँछिन् दीपा । ’म एकदम हाँस्न मन पराउने मान्छे । पहिलो सिजनमा दर्शकले मेरो हाँसो र कमेडी राम्रो थियो भनेर कमेन्ट गरिदिनु भयो । म करिश्मा दिदीलाई शुभकामना दिन चाहन्छु,’ उनले सुनाइन् ।
’मुन्द्रेको कमेडी क्लब’का संचालक जीतु भने निर्माण टिमले नै कार्यक्रमको अध्यक्षता परिवर्तन गर्ने कुरा राखेपछि अभिनेत्री करिश्मा फाइनल भएको बताए । ’पहिलो सिजनमा ७६ श्रृङ्खला हामीले बनायौं । दोस्रो सिजनमा हाम्रो कलाकार चेन्ज छ । सेटअप पनि चेन्ज छ । त्यसैले अध्यक्ष पनि परिवर्तन गरौं भन्ने निर्माण टिमले कुरा गर्नुभयो । त्यसैले हामी तयार भएका हौं,’ उनले भने, ’विवादकै कारण भन्ने चाहिँ होइन ।’
कान्तिपुर बाट

You can share this post!

मिति गुज्रेको सामानलाई नयाँ प्याकेजिङ गर्ने गोदाममा छापा, तीन करोडको सामान जफत

कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण

Related posts
error: Content is protected !!