जन्मे लाहुरेको जिल्ला, हुर्के पनि, कहिल्यै बिदेश जानुपर्छ भन्ने सोचाइ आएन जेसीजको राष्ट्रिय अध्यक्ष भएपछि मात्र उनले पासपोर्ट बनाए

जीवन भनेको एउटा गीत हो । गीत विशेष भाषामा लेखिन आवश्यक छ । विशेष भाषा भनेको उच्च लयात्मक भाषा हो । हाम्रा सबै गीतहरुमा उच्च लयात्मकता छैन, त्यस्तै हाम्रा जीवनहरुमा पनि । भाव मिलेको जीवन अमर हुन्छ जसरी सुर र तालहरु मिलेका गीतहरु कालजयि हुन्छन् । ‘प्रेम गरेर मात्र नहुने रहेछ, देखाउन पनि सक्नुपर्दो रहेछ ।’ महानायक राजेश हमालले कहीँकतै प्रेमको परिभाषा यसरी गरेका थिए । हमाल थप्छन्– ‘पोको पारेर राखिएको मायामा कुनै समयपछि खिया पनि लाग्न सक्छ ।’ पोको पारेर राखेको जीवनको झन् के गति होला ? यस्तै जीवनको परिभाषा खोज्न तल्लिन रहेका युवाको नाम हो धनञ्जयकुमार श्रेष्ठ ।
पिता लक्ष्मीप्रसाद श्रेष्ठ र माता पुतलीदेवी श्रेष्ठको पाचौं सन्तानको रुपमा २०३५ जेठ १६ गते पहिलोपटक यस धरतीमा आँखा उघारेका हुन् । ब्यापारिक सिलसिलामा पिता रुम गएर फर्निचरको ब्यवसायमा संलग्न गरेपछि परिवारको बसाइँ रुम नै भयो र उनको जन्मपनि उतै भयो । कक्षा चारसम्म राष्ट्रिय मा.वि. रुममा नै अध्ययन गरेका उनले कक्षा पाँचदेखि दशसम्म प्रकाश मा.वि. बेनीमा अध्ययन गरे । उनी स्कुले जीवनदेखि नै चित्रहरु कोर्थे, कविता र गीतहरु लेख्थे । सामुहिक हाजिरीजवाफ प्रतियोगिताहरुमा भाग लिँदै अगाडि बढ्न खोज्ने उनी वक्तृत्वकलामा भने निकै पछाडि थिए । एकपटक प्रकाश मा.वि.मा कक्षा ७ पढ्दैगर्दा वक्तृत्वको लागि सरले अगाडि बोलाउनु भयो । केके भन्छु भनेर अगाडि गएका उनका मनका कुराहरु सबै हराएर गए । लगभग धेरै समयसम्म उनको बोली नफुटेपछि सरले आफ्नो बेञ्चमा गएर बस्न भन्नुभयो । बल्ल उनले मुक्ति पाएको अनुभव गरि मनमनै सरलाई धन्यवाद दिए ।
एस.एल.सी. पास गरेपछिे म्याग्दी बहुमुखी क्याम्पसमा आईकममा भर्ना भए । २०५२ सालमा कलेज पढ्दाको समयमा नै म्याग्दी बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कलको सचिव भएर काम गरेका धनञ्जय आईकम उत्तीर्ण गरेपछि भने आफ्नो पढाइको विषय परिवर्तन गरि आर्ट्समा भर्ना भएर बि.ए. पढ्न थाले । त्यसैसमय नर्वेजियन रेडक्रसको परियोजना अन्तरगत वरिष्ठ कार्यालय सहायक भएर काम गर्दै स्नातक तहको अध्ययन पूरा गरे । गीत÷सङ्गीतप्रति अत्याधिक रुचि थियो । केही साथीहरुको सहकार्यमा ‘सुनगाभा’ ब्याण्ड खोले । दर्जनभन्दा बढी गीतहरु रेकर्ड गराएका उनले २०५९ सालतिर ‘डक्टर पाइलट बनाउँछु भन्थे बाबु आमाले ! तर म पागल भएँ तिम्रो मायाले !!’ गीत लेखे, उक्त गीतमा सहकर्मी मित्र अच्युत गिरिले स्वर दिएका थिए । यो गीत श्रोताहरुले निकै मन पराए । विभिन्न एफ. एम., रेडियो तथा टेलिभिजनहरुमा दैनिक बज्न थाल्यो । उनमा खुशीको सीमा नै रहेन । खुशी न हो ! कतिञ्जेल टिक्थयो र ? एकाएक उनको पनि खुशी लुटियो, टेकेको जमिन भासिए जस्तै भयो । २०५९ साल पौष १८ गते अप्रत्यासित रुपमा आफूलाई जन्मदिने ५६ वर्षिय आमालाई गुमाउन पुगे । आमालाई गुमाएको केही वर्षपछि पितामा पनि बिमारका लक्षणहरु देखा पर्दै गए । देशभित्रै बसेर केही गनुपर्छ भन्ने सोच भरिदिने आदर्शवान पितालाई म्याग्दी, पोखरा, काठमाडौंका हस्पिटलहरुका औषधीले समेत काम गर्न छाडेको थियो । २०६६ साल माघ एक गतेका दिन म्याग्दीमा म्याग्दी महोत्सव र माघे संक्रान्ति मेलाको भव्य तयारी हुँदे थियो । मेला सफल बनाउन सबैजना सक्रिय रुपमा लागिरहेका थिए । आकास बनेर सारा बोझहरु आफ्नै थाफ्नोमा बोकेका बाबुले पनि त्यहीदिन अकस्मात् धरती छोडेपछि संसार शून्य लाग्यो । जीवन अर्थहिन लाग्यो । सबै साथीभाइ रमाइलो गरिरहेको बेला आफूले बाबु गुमाउनु पर्दाको पीडा आफ्नै मनभित्र पोको पारेर राखेका छन् । त्यसपछिका हरेक सालका माघे संक्रान्तिका दिनहरुमा शून्य आकाश नियाल्दै बाबुलाई सम्झन्छन् र आँखाबाट झर्ने आँसुहरुलाई शक्तिको रुपमा बदल्छन् । २०५६ सालदेखि युवाहरुको नेतृत्व विकास गर्ने संस्था म्याग्दी जेसीजमा आवद्ध भएर विभिन्न सामाजिक कामहरुमा अग्रसर हुँदै गएका उनी छोटो समयमा नै म्याग्दी जेसीज २००४ को अध्यक्षमा निर्वाचित हुन सफल भए । लगनशील र प्रष्ट वक्ताको रुपमा परिचित उनले आफ्ना सहकर्मीहरुको विचमा प्रभाव बढाउँदै गए । २००६ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, २०१० मा कार्यकारिणी उपाध्यक्ष बन्न सफल भए ।


२०६७ साल माघमा पर्वत कुश्माकी सन्ध्या जोशीसँग मागी विवाह गरेर बैबाहिक जीवनमा प्रवेश गरेका श्रेष्ठको दश वर्षिय मायाको कोपिला अभिनव श्रेष्ठ हुर्किरहेका छन् । पुरुषको हरेक सफलतामा नारीको पनि हात हुन्छ । उनलाई साथ दिने सन्ध्या जोशीसंगको विवाहको कुरा सम्झदै भने हाम्रो पक्का मागी विवाह हो । ठूलो दाजु सञ्जय श्रेष्ठ र परिवारका अग्रज सदस्य धर्मनारायण श्रेष्ठले कुश्मा घरमै गएर मागेर विवाहको साइत जु–याइएको थियो । साथै विवाहको लागि पर्वत फलेबास निवासी हाल बेल्जियममा रहनु भएका अर्जुन श्रेष्ठ दाइको पनि विशेष भूमिका रह्यो । बिवाह मागेर नै भएपनि सामान्य चिनजान भने पहिलेदेखिनै भएको रहस्य पनि खोले । सन्ध्या जोशीलाई पहिलो पटक बनेपामा भएको जेसीजको कार्यक्रममा देखेको थिए । उनी एसएलसी परीक्षा दिएर दाइहरुसँग जेसीजको कार्यक्रममा घुम्न गएको बेला पहिलो पटक देखेको मात्र थिए । सामान्य चिनजान भने पछि पर्वत जेसीजको कार्यक्रममा भेट भएपछि मात्र भएको थियो । सामान्य चिनजान र बोलिचालिमा रहेको सम्वन्ध विवाहमा परिणत भयो ।


कुनैपनि संघसंस्थामा लागेपछि त्यसको उच्च तहको नेतृत्व गर्ने जोकोहीलाई रहर हुनु स्वभाविक हो । उनलाई पनि उनी संलग्न नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको नेतृत्व गर्ने मनोकांक्षा थियो । त्यही क्रममा २०१५को नेपाल जेसीजको राष्ट्रिय चुनावको समय आयो । आफनो कामको अनुभव, दाजुभाइ तथा साथीहरुको सुझाव र सहयोगका तथा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायत भुतपूर्व अध्यक्षहरु, तत्कालिन म्याग्दी जेसीजका अध्यक्ष बबिन बागदास र म्याग्दी जेसीजका सदस्यहरुको साथसँगै राष्ट्रिय अध्यक्षमा उठ्ने निधो गर्दै उममेदबारी दर्ता गराए । म्याग्दी काठमाडौं समाज लगायत उनका थुप्रै शुभचिन्तकहरु उनलाई साथ दिँदै झाँकी सहित काठमाडौंको महाधिवेशन स्थल बनेपामा उत्रिएपछि भने उनको आत्म विस्वास बढेको थियो । बनेपा बजारसंग उनको अनौठो संयोग जोडियो । जीवनसाथी सन्ध्यालाई पहिलोपटक बनेपामा देख्नु र नेपाल जेसीजको राष्ट्रिय चुनाव पनि बनेपामा नै हुनुले पनि जीतको नजिकै पुगेको उनको मनोविश्लेषण थियो । अन्ततः आफ्नो आत्म विस्वास र इमान्दारिताका कारण नै आफ्ना प्रतिशपर्धी रविन्द्र गुरुङलाई ४२३ को फराकिलो मतले पछिपार्दै नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुन सफल भए ।
२०६० साल चैत्र सात गते म्याग्दीमा भएको तत्कालिन माओवादी र सशस्त्र सेनाविचको द्वन्द्धलाई नजिकबाट नियालेका छन् उनले । रेडक्रस मार्फत बेबारिसे अवस्थामा रहेका छैसठ्ठी लासहरुको ब्यवस्थापन उनको जीवनको नविर्सने क्षणहरु मध्ये एक हो । त्यसै आक्रमणमा म्याग्दी पुस्तकालयको सचिव रहेकै समयमा करिव छ हजार पुस्तकहरु आफ्नै अगाडि खरानी हुँदा उनको मन अमिलो भयो । साथै यही आक्रमण पछि म्याग्दी पुस्तकालयलाई पुनर्जीवन दिने कामको अगुवाई गर्ने मौका उनलाई मिल्यो । उनी पुस्तकालयको अध्यक्ष भएर नेतृत्व गरिरहदां पुस्तकालयको नयाँ सुविधासम्पन्न भवन निर्माण गर्ने अभिभारा पूरा गरे ।
उनी नेपालको प्राय भुभाग घुमेका छन् । ७७ जिल्ला मध्ये ६० भन्दा बढी जिल्ला पगेका छन् । नेपालकै चिनिएको धार्मिक एवम् प्राकृतिक हिसावमा राम्रो मानिएका ठाउहरुमा टेकेका छन् । यसै क्रममा एकपटक मृत्युको नजिक पुगेर पनि बाहिर निस्केको अनुभव छ उनीसँग । जेसीजको बैठकको सिलसिलामा गैडाकोट जाँदैगर्दा पोखरा नजिकको फेदी कटेपछि बिपरित दिशाबाट आएको बसले अकस्मात ठक्कर दिँदा गाडी हाँकिरहेका मित्र ईश्वर श्रेष्ठ र उनी घाइते भए । अन्य साथीहरुलाई सामान्य चोट लाग्यो, ईश्वर जीको गाडी हेरिनसक्नु भएको थियो दुर्घटनाका कारण । अस्पताल पुगेपछि ईश्वर श्रेष्ठको टाउकोमा छ टाँका लगाइयो । काललाई जितेर फर्केको त्यो स्मरण अहिलेपनि उनमा ताजै रहेको छ ।

२०६१ सालमा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकको रुपमा नाम निकाल्न सफल भए तरपनि उनले तत्कालिन राजनैतिक अवस्थाका कारण जागीरलाई निरन्तरता दिन सकेनन् । २०६२ सालदेखि हालसम्म नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको शाखा अधिकृतको रुपमा रहेका उनी म्याग्दी पुस्तकालयको निवर्तमान अध्यक्ष, रोटरी क्लव अफ् म्याग्दीको चार्टड प्रेसिडेन्ट, नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाको निर्वतमान अध्यक्ष समेत हुन् । आफू यो स्थानसम्म आईपुग्नको लागि आफ्ना दाजुहरु र दिदीको अत्यन्त्यै ठूलो भूमिका रहेको हर्षका साथ स्विकार गर्छन् । वाल्यकालमा हलो जोत्ने खेल खेल्दा लठ्ठीले हिर्काएर शिरमा खत बसाइदिने विनय श्रेष्ठ आफ्नो प्रिय भाइ मात्र नभएर साथी भएकोमा गर्व गर्छन् । सम्पूर्ण साथीभाइहरुको सहयोग अनि आफ्नै निरन्तरका्े प्रयासले एउटा म्याग्देली केटा, नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष हुने अवसर पायो । राष्ट्रिय नेतृत्व गर्ने अवसर पायो । यो म्याग्दीका लागि मात्र होइन, सिङ्गो राष्ट्रका लागि पनि गर्वको कुरा हो । ‘डक्टर पाइलट बनाउछु भन्थे बा आमाले …!’ उनका गीतका शब्दहरुले मात्र भने । तर उनका बाबु आमाले उनलाई कहिल्यैपनि यो वा त्यो बन्नुपर्छ भनेर बाध्य बनाएनन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा जन्मे हुर्केर पनि कहिल्यै बिदेश जानुपर्छ भनेर भनेनन् । जापान, सिंगापुर, मलेसिया, वंगलादेश लगायतका देशहरु भ्रमण गरेका उनले जेसीजको राष्ट्रिय अध्यक्ष भएपछि मात्र पासपोर्ट बनाए । अर्थात् बिदेशिने सपना कहिल्यै देखेनन् वरु उनको मनले जे सोच्छ त्यो गरे र त आज उनी समाजमा असल पात्रको रुपमा परिचित छन् ।

You can share this post!

गण्डकी प्रदेश सुनचाँदी ब्यवसायी महासंघको उपसभापतिमा म्याग्दीका विश्वकर्माको उम्मेदवारी

यस बर्ष म्याग्दी र मुस्ताङ्गका कृषकलाई कृषि ज्ञान केन्द्र बाट मात्रै ९ करोड भन्दा बढी अनुदान वितरण गरिने

Related posts
error: Content is protected !!