मजदुरदेखि मालिकसम्म

भनिन्छ ! जसले मह काढ्छ उसैले हात चाट्छ । जसले सपना देख्छ, उसैका सपना पूरा हुन्छन् त्यसैलेपनि सपना देख्न छोड्नु हुँदैन । देवकोटाले त्यसै भनेका होइनन् ‘उदेस्य के लिनू, उडी चन्द्र छुनु एक ।’ यस्तै भनाइ र उखानहरु एउटा गाउँले युवामा लागु भएको छ ।
उनी हुन् ताराप्रसाद आचार्य उर्फ ! बाबुराम । साविकको कहुँ–२, हाल मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा पिता दुर्गादत्त आचार्य र माता हीरामती आचार्यको पहिलो सन्तानको रुपमा २०३४ साल बैशाख १० गते पहिलो पटक यस धरतीमा आँखा उघारेका बाबुरामले राष्ट्रिय जनजागृति प्रा.वि. पूर्णगाउँमा प्राथमिक शिक्षा हासिल गरे । दीपशिखा नि.मा.वि. कुहुँमै कक्षा ७ सम्म अध्ययन गरेका नजिकैमा मा.वि. अध्ययन गर्ने विद्यालय नहुदाँ आफ्नो बाँकि अध्ययनको लागि कैलालीको सुखड पुगे तर तत्कालिन समय र वातावरणले साथ नदिदा सोहि ठाउँमा कक्षा ८ उर्तिर्ण गरि पुन गाउँमै फर्के र एक वर्षसम्म कुरि दीपशिखा मा.वि.मा कक्षा ९ को पठनपाठन सुरु भए पश्चात पहिलो व्याचको रुपमा भर्ना भै त्यहिबाट एस.एल.सी.पास गरे । उच्च शिक्षा पढ्ने चाहना हुदाहुदै पनि समय र परिस्थितीले साथ नदिएपछि आफ्नो औपचारिक अध्ययनलाई अगाडि बढाउन सकेनन् ।


उनी गाउँमै जन्मे, गाउँमै हुर्के । तीन दाजुभाइमध्ये जेठा उनी सानैदेखि फरक स्वभावका थिए । उनी जिज्ञासु थिए र चञ्चल पनि । त्यही चञ्चलताको परिणाम नै भन्नुपर्छ नौ वर्षको उमेरमा उनका चारजना दौतरी दाजु भजराम, अंकल गुणारत्न रामचन्द्र आचार्य संग मिलि २०४४ श्रावण महिनाको वर्षातको समयमा अंकल रामचन्द्रकोे घरको कुखुरा संयुक्त रुपमा चारै जनाले सिंगा तातोपानीमा ल्याई रु ८० मा बिक्रि गरे । चिया, पाउरोटी खाई त्यो पैसा त्यही सकेर चारै जनाले अनिश्चित बिखर्ची यात्रा शुरु गरे । त्यहीदिन बेनीबजारको मङ्गलघाटमा पहिलोचोटी आएर दीपशिखा मा.वि.मै सँगैपढेका साथीहरु गणेश र फूलमायाको आमाको सानो होटेलमा चारैजना बास बसे । चामल किनेर दिएपछि आमाले भात पकाएर खान दिने भइन् । त्यस वापत दाल र तरकारी प्रतिव्यक्ति ६ रुपैया तिर्नुपर्ने थियो । तर सुतेको पैसा तिर्नुपर्दैनथ्यो । खाना खाएर बार्दलीमा सुतेका उनीहरु खोल्टीमा पैसा नभएको कारणले होटल नखुल्दै खाएको २४ रुपैया तिर्न नसक्दा होटल मालिकलाई जानकारी नगराई पोखरातर्फको यात्रा तय गरे । त्यो क्षण अहिले पनि उनको मानसपटलमा ताजै छ । श्रावण महिना वर्षातको समयमा चारैजना साथीहरु आँधीखोलाको बाटो हुँदै नाउँडाँडातर्फ लागे । बेनीदेखि नाउँडाडासम्मको यात्रामा वर्षाको समयमा बढेको आँधीखोला तर्न खोज्दा झण्डै बगाएन । बाटोमा भेटिएका खेतका मकै भाँची दाउँरा खोजि पोल्थे, पोलेको मकै छोडाएर बराबर चार भाग लाएर खान्थे ढाक्रेहरुले खाना पकाउने र विश्राम गर्ने ठाटी तथा वाटोमा भेटिएको सरकारी विद्यालयको वेञ्चमा दिनभरि भिजेको एकसरो सर्ट र ज्यागेको भरमा हिडेका उनीहरुका कपडा हरमै भिज्ने र सुक्ने गथ्र्यो । यसरि जब नाउँडाडा पुगे, पहिलोपटक पिच वाटोमा अजङ्गका बस र ट्रक देख्दा बाटोमा झेलेको दुःखको याद नै रहेन । केहीवेरको थकान मेटाईपछि उनीहरु त्यहाँबाट पोखरा जानका लागि गाडीमा नै जान तयार भए तर बसको पछाडि झुण्डिदा ड्राइभरले सिसाबाट देखि झुण्डिन नदिने निश्कर्ष निकाल्दै ट्रकमै झुण्डिने निधो गरे । दौडिदै ट्रकमा उक्लिन्थे र ट्रकको पछि झुण्डिन्थे । दौडिरहेको ट्रकमा चारै जना झुडिने सम्भव थिएन । एक साथी चढ्न छुटे फेरि तीनै साथी गुढिरहेको ट्रकबाट पिच बाटोमा फराल्थ्ये । यसरी ट्रकमा उक्लिदा र गुडिरहेको ट्रकबाट फराल्दा चारै जनाको घुडा र कुहिनाहरुको छाला थिएन । सौभाग्यवंश कही कसैको अंगभंग नभएको सम्झना अहिले पनि ताजै छ । अनेक तरिकाले घरबाट हिडेको ७ दिनपछि पोखरा पुगे । पोखरामा भौतारिरहँदा त्यहाँका स्थानीयले दया लागेर एउटा प्रतिक्षालयमा चिउरा र तरकारी खान दिएको र एक जना दौतरीलाई एक सेट कपडा किनिदिएको अझै सम्झन्छन् । त्यसै वखत स्थानीयको सहयोगमा जेठा मामा भीमप्रसाद सापकोटाको घरमा पुगेका थिए । तत्कालिन समयमा सञ्चार नभएतापनि चारै जनाको हुलियाको आधारमा बाबा खोज्दै जादा चारैजनालाई पोखरा मामाको घरमा भेट्दा हर्षले भक्कानिएर रुँदै अङ्गालो हालि फकाएर घरमा फर्काई ल्याउनुभएको घटना उनको स्मरणमा अहिलेपनि ताजै छ ।
सामान्य परिवारमा जन्मिएर हुर्किएका उनी सानैदेखि पैसाको महत्व बुझ्थे । बाबु वैदेशिक रोजगारको सिलसिलामा बहराइन गएपछि भने घरको रेखदेख गर्ने जिम्मा उनैको थियो । तथापि उनको चञ्चले पनका कारण पटकपटक घर छोडि घुम्ने सिलसिला १५ वर्षको उमेरसम्म चलेको हाँस्दै सम्झन्छन् । त्यसै दौरानमा उनले कहिले साथमा भएको घडी बेच्थे, कहिले टेपरेकर्डर बेच्थे । बाबा आमाको आँखा छलेर कहिले चामल र गहुँ बेचेर आफ्नो पकेट खर्च चलाउथे त कहिले मिल्ने साथीहरु जम्मा गरेर घरबाट भागेर यात्रामा निस्कन्थे । यसै दौरानमा उनि १५ वर्षको उमेर सम्म १० औं पटक साथीहरुसंग नयाँनयाँ ठाउँको भ्रमणका लागि निस्किसकेछन् । १६ वर्ष उमेर भएपछि व्यवसाय गर्ने इच्छा भएकाले गाउँमै किराना पसल तथा तीजको समय पूर्णगाउँमा लाग्ने मेलामा चालिस हजार ऋण खोजेर होटेल खोले तर त्यो पैसा पुरै डुबेपछि भर्ती हुँने मनसायले भागेर इण्डिया पुगे । त्यहा पनि असफल भएपछि फेरि घर फर्के । उनी एकैपटकमा हार खाने ब्यक्ति थिएनन् । फेरि भर्ती हुनका घर परिवारकै सल्लाहमा ४० हाजार बुबाकै हातले कम्मरमा बाँधी लिएर पूनः भर्तीका लागि शिलाङ हानिए । त्यसपटकको प्रयासमा पनि विविध कारण असफल बने । त्यसपछिका दिनहरुमा उनको समय पोखरामा व्यतित् हुन थाल्यो । त्यस वखत उनी होटलहरुमा कहिले सहयोगी बने, कहिले वेटर बने त कहिले सिटी गाइडको रुपमा काम गर्न थाले । बिदेस जाने रहर बोके तर भिषा लागेन । जिन्दगीले आफूलाई यसरी थकायो कि आफैदेखि घृणा जाग्न थाल्यो तर पनि हिम्मत हारेनन् । धेरै कामहरुमा हात हाल्दै गए तर कुनैपनि काममा सफलता पाउन नसकेपछि भौतारिदै बेनी झरे । संन १९९८ तिरको कुरा हो, स्व. मीनबहादुर विस्वकर्मा बाबासँग उनको भेट भयो र त्यही भेटले नै उनको जीवनमा नयाँ मोड लियो ।
त्यतिबेला मुस्ताङ, म्याग्दीमा यातायातको सुविधा थिएन । पर्वत बेनीसम्म गाडीहरु आउथे र त्यहीँ रोकिन्थे । पर्वत बेनी वरिपरि मान्छेहरुको भीड जम्मा हुन्थ्यो । त्यही भीड देखेर यो ठाउँमा एउटा रेष्टुरेण्ट चल्छ भन्ने मनसायले पर्वत बेनीको झोेलुङ्गे पुलको छेउमा रेष्टुरेण्ट खोल्ने निर्णय गरे । होटेलको लागि अंकल स्वं प्रेमप्रसाद सुवेदी (बेल्जियममा दुखद निधन) ले रु २०,०००।– क्रण सहयोग गर्नुभयो । रु २०,००० छाप्रो निर्माणका लागि पेश्की लिएर मासिक एक हजार लिने शर्तमा पुलको छेउमा मीनप्रसाद विस्वकर्मा बुवाले रेष्टुरेण्टका लागि छाप्रो तयार गरिदिनु भयो । ठिक त्यसै समय कतारको कोरियन सिनुवा कम्पनीमा भिषा लाग्यो । उनी त्यसतर्फ जानका लागि तयार भएका थिएन्न तर परिवारको वाध्यता तथा सल्लाहमा जर्वरजस्ती उनको व्यवसायिक सपनालाई त्यही रोकी त्यसतर्फ मासिक ९५ डलर तलबमा जान राजि भए । सामान्य कामदारको रुपमा कतार छिरेका उनी आफ्नो कामप्रतिको इमान्दारिता, लगनशिलता र क्षमताकै कारण अफिसियल रुपमा प्रवेस गरे । बीस महिनाको कतार बसाईपछि उनी पूनः नेपाल फर्के । तीन महिनाको नेपाल वसाईपछि मामाको छोरा प्रकास सापकोटा, ठूली आमाको छोरा ख्याम तिवारी लगायत पाँच जनाको टोली सहित अलताजेज रेष्टुरेण्टमा साउदीका लागि उडे । त्यहाँ शुरुमा उनको मासिक तलव ६०० रियल थियो । कामप्रतिको इमान्दारिताले ६ महिनामा नै उनी क्यासियर बने । केही महिनाको प्रशिक्षणपछि रेष्टुरेण्ट म्यानेजरको रुपमा नियुक्त भए । त्यतिबेलासम्म उनका आज्ञाकारी रामायण कथाका भरत तथा लक्ष्मण जस्ता भाइहरुमध्ये माइलो भाइ अर्जुनलाई आफ्नो साथमा लगिसकेका थिए भने कान्छो भाइ ईश्वर पनि रोजगारिको सिलसिलामा कतार पुगिसकेका थिए । कोरियन, जापानीज जस्ता परिश्रमी ब्यक्तिहरुको सङ्गतको कारण उनलाई जीवनमा दुःखसँग कहिल्यै डर लागेन । धैर्य गर्ने बानीको बिकास भयो । दैनिक १८ घण्टा काम गर्ने उनी चार÷पाँच घण्टा त बेतलबी काम गर्थे । कामको बोझ बढ्दै गयो तर तलब भने बढ्न सकेन । यसै दौरानमा २०६३ सालको कात्तिक महिनामा चार वर्षको साउदीको बसाइपछि तीन महिनाको छुट्टिलिई उनी नेपाल फर्किए । सिमलचौरको बाटो हुँदै पूर्णगाउँको उकालो चढ्दै थिए । झण्डै साँझको ७ बज्दै थियो बाङ्गिनाको चौतारी नजिक पुग्दैगर्दा अकस्मात् ठूलो हावाहुरी सहितको असिना र पानी प¥यो । गोठमा ओत बसे, पानी रोकिएपछि उनी घर पुगे । घरमा पुग्दा बाबु निधारमा हात राखेर आँगनमा घोप्ट्याइएको ओदान हेर्दै थिए । जव बाबु छोराका आँखा जुधे तव बाबुको आँखा आँसुले भरिए । त्यसै वखत आएको विशाल असिना पानीले उनी लगायत सम्पूर्ण गाउँलेहरुको खेतमा काटेर सुताइएको वर्षभरि खाने धान सखाप पारेको थियो ।
विदेशबाट भाडामात्र गरेर छुट्टिमा आएका उनी घर तथा गाउँमा परेको त्यो बिपत्तीले उनका पनि आँखा भरिए । गला अवरुद्ध भए, बोल्ने शब्द नै भेटेनन् । नबोली शिर निहुँराएर पितालाई ढोगीदिए । पिताले कुनै आशीर्वचन फर्काउन सकेनन् मात्र नजर जुधिरहे । पितालाई सान्त्वना दिन नसकेको त्यो पल सम्झिदा अहिले पनि भक्कानिन्छन् उनी ।
त्यसै वखत विदेशबाट फर्किएकाले आफ्ना आफन्तहरुलाई भेटघाट गर्ने परम्परा अनुसार भेटघाटको सिलसिलामा सानो बुवालाई भेट्न उनी बागलुङ पुगे । रु १५०० को लगानीबाट करोडौंको मालिक बनेका सानो बुवाको त्यो मेहेनत र प्रगति देखेपछि नेपालमै केही गर्न सकिन्छ भन्ने सोच बोकेका उनी पूनः आफूले वैदेशिक रोजगारबाट सिकेको सिप र जानुभन्दा पहिले देखेको रेष्टुरेण्ट तथा होटल ब्यवसाय गर्ने सपनालाई पूर्ण साकार पार्ने सोच बनाएर तुरुन्तै बेनी फर्किए । २०६३ साल मङ्सीर १ गते मासिक रु.१८,०००।– भाडा बुझाउने सर्तमा न्युरोड स्थित ईनमाया बि.क.को घर भाडामा लिए । त्यहीदिनदेखि उनको औपचारिक ब्यवसायको आरम्भ भयो । केही समयमानै उक्त होटलले बेनीबजारमा एउटा नमस्ते ब्राण्ड्र स्थापना गरि आफूलाई स्थापित गराउन सफल भए । दुवै भाइहरु विदेशमा रहेकाले स–साना बच्चाहरु चार वर्षका दुई, छ वर्षको एक, र आठ वर्षको एक गरि चार वच्चाको साथमा बेनीमा झरेका श्रीमती तथा वुहारी सहित पाँच लाखको लगानिमा मङ्सीर २२ गते बाला चतुर्दशीका दिन बिधिवत रुपमा ‘होटेल नमस्ते रेष्टुरेण्ट एण्ड बार’को उद्घाटन गरे । होटेल शुरु गरेसँगै भाइहरु बिदेसबाट फर्किएर उनलाई सघाउन थाले । बाबु आमाले गाउँमा उब्जेको अन्नपात र तरकारीहरु पठाएर पूर्ण सहयोग गर्नुभयो । घरपरिवार, श्रीमती तथा साथीभाइको पूर्ण सहयोग मिल्यो । ब्यवसायले सफलता पाउदै गयो । २०६५ सालमा न्यूरोडमा ‘नमस्ते ट्रेड मोवाइल सेन्टर’ खोलेर ब्यवसायमा बृद्धि गरे । समय एकनास कहाँ पो हुँदोरहेछ र? ब्यवसायमा प्रगति भैरहेको बेला घरबेटीसँगको सम्झौतामा समस्या आयो । उनलाई मानसिक तनाव बढ्यो र होटेल बेच्ने निर्णय गरे । होटेल बेचेर बिदेशिन खोजे तर फेरिपनि सफल हुन सकेनन् । अन्ततः होटेल ब्यवसायलाई नै निरन्तरता दिने उदेस्यले आफनो ज्ञानलाई पूर्ण सम्मान गर्दै २०७१ सालमा ‘होटेल याक’को स्थापना गरे । होटेल याक सञ्चालन गर्न प्रेरित गर्ने आदरणीय दाजु प्रमोद श्रेष्ठ, उद्योग बाणिज्य सङ्घका निवर्तमान अध्यक्ष आदरणीय दाजु जीवनकुमार बिस्वकर्मा, मितज्यू रामकृष्ण बिस्वकर्मा, भाइ कमल बिस्वकर्मा, साथीभाइ तथा शुभ चिन्तकहरुप्रति सद्भाव ब्यक्त गर्दछन् ।
तीन छोरी र एक छोराका पिता बाबुराम ब्यवसायी मात्र होइनन् सामाजसेवि पनि हुन् । बिभिन्न सङ्घ संस्थाहरुमा आवद्ध भएर सामाजिक कामहरुमा लागिरहेका छन् । २०६५ सालदेखि टोड्के क्षेत्रको पर्यटन तथा धार्मिक बिकासका लागि निरन्तर रुपमा लागिरहेका उनले टोडेके हिल रिसोर्ट र जिल्लाकै बहुचर्चित हरियाली गु्रपमा पनि लगानी गर्न सफल भएका छन् । उद्योग बाणिज्य सङ्घ २०६८ मा कार्य समिति सदस्य, लायन्स क्लव अफ बेनी म्याग्दी २०१२ मा कार्य समिति कोषध्यक्ष, टोड्के क्षेत्र विकास कोषको सस्ंथापक उपाध्यक्ष हँुदै हाल अध्यक्ष, लाल युवा क्लवको उपाध्यक्ष, युनिक वचत तथा ऋण सहकारी सस्ंथाको कोषाध्यक्ष, राष्ट्रिय जनजागृति मा.बि. मङ्गला–१ पूर्णगाउँको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, सामाजिक बिकास मन्त्रालय, पर्यटन मन्त्रालय, कृषि मन्त्रालयको समन्वय समिति सदस्य, नेपाल रेष्टुरेण्ट ब्यवसायी महासंघका केन्द्रीय सदस्य तथा म्याग्दी होटेल रेष्टुरेण्ट ब्यवसायी सङ्घको संस्थापक सचिव र हाल अध्यक्षमा रहेर काम गरिरहेका छन् । उद्योग बाणिज्य सङ्घको प्रतिनिधिको रुपमा २०१३ मा कोरिया भ्रमण गरेका उनी लायन्स क्लव अफ बेनीबाट जर्मन लगायत युरोप देसहरुको भ्रमण गर्ने सु–अवसर पाए ।
‘गहिराईमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क’ भनेजस्तै जिन्दगीमा दर्जनौं हण्डर र ठक्कर खाएर नै उनले जीवन बुझे । गरेर नै सफल बने । जिल्लाका प्रभुत्व ब्यक्तिमात्र होइन उपराष्टपति परमानन्द झा, भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि प्रचण्डसम्म उनकै होटेलमा बास बसेका छन् । एउटा सामान्य किसान परिवारमा जन्मिएका उनी बेनी बजारको सफल होटेलको मालिक बनेका छन् । दर्जनौलाई रोजगारी दिएका उनी एक सफल ब्यवसायीको रुपमां चिनिन्छन् ।

अहिले बेनी बजारको उत्कृष्ट होटेल बनाउन सफल भएका छन् । एउटा सामान्य किसान परिवारमा जन्मिएर पनि लगनशिलता, कामप्रतिको इमान्दिारिताले आज उनलाई यो स्थानसम्म ल्याइपु–याएको छ ।

 

You can share this post!

यातायातमा ५० प्रतिशत भाडा बढ्यो लामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्चालन हुने

उद्यमी बन्न चाहनेलाई लिसँखुपाखरले १ प्रतिशतमा कर्जा दिने

Related posts
error: Content is protected !!