दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपालचोकमा मात्रै बाढी पहीरोका कारण ठुलो जनधनको क्षति पुगेको छ । यो बर्षको दुईमहिना यता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।
आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो । बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ हालसम्म पनि हराइरहेका छन् ।
त्यस्तै सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गाउँपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्यो । लामो प्रयासपछि मात्र शव फेला परेको थियो ।


गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाउनपर्यो ।
यस्तै मेलम्ची खानेपानीको गेट फुटलाखोलाको बेगले दुई जनालाई बगाएको थियो । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको तत्काल उद्धार गरिएको थियो ।
यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए । साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका छन् ।
सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम शुरु भएयता ७४ जनाले ज्यान गुमाएका छन् । पहिरोमा हालसम्म ४१ जना हराइरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । पहिरोमा परी जिल्लाभर १३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् ।
पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले बताउनुभयो । यस्तै भोटेकोशीमा ८७५, जुगल गाउँपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख ढकालले बताउनुभयो ।
जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट रु १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारलाई रु ११ लाख ८५ हजार र पहिरोपीडितलाई रु १० लाख नौ हजार राहत वितरणसमेत गरिसकिएको प्रमुख ढकालले जानकारी दिनुभयो ।
रासस

You can share this post!

मराङ्ग र विमाका बाढि पिडितलाई सरकारद्धारा ३५ लाख राहत वितरण

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण, योसँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार १ सय १२

Related posts