आएका १२ जनामा १ जना मात्र कोरोना पोजेटिभ

( मेरो डायरीको केही अंश ) २०७० जेस्ठ १२ गते
म हरेक कुरा आफैँ महशुस गर्न खोज्छु । कम्तीमा एकपटक नजिकबाट लिएर मेरो सब कन्सियस माइन्डमा राख्न चाहन्छु ।
भारतमा लकडाउन भएपछि मजदुरहरूलाई आआफ्नो घरमा जानको लागि रेल र बस खुल्ला गरेको थियो । नेपाली मजदुरहररू उतै अलपत्र परेकाहरू पनि नेपाल आउन थाले । नेपाल आउन भनी आएका ती मजदुर नेपालको सीमा सिल गरिएकाले केही दिन उतै सीमावर्ती इलाकाको पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाएर भारत सरकारले राख्यो । म्याग्दीको त्यो समूह पुरै ३८ दिन भारतीय क्वारेन्टाइनमा बस्यो । खान राम्रै व्यवस्था गरेको भए पनि गर्मी ज्यादा भएकाले केही कठिनाइ भोगेको बताउँथे ती नेपाली । सायद उनीहरूको जीवनमा यो क्षण अविस्मरणीय नै हुनुपर्दछ ।
उनीहरू अलि बढी तनाबमा देखिन्थे । रोगको बारेमा धेरै हल्ला, क्वारेन्टाइन, गर्मी , खल्तीमा पैसा नहुनु, लगाउने कपडा कम, लामखुट्टे लगायतको समस्या, भारत र नेपालमा हुने सरकारी कारिन्दाको नमिठो व्यवहार, अझ अछुतजस्तै यस्ता धेरै । कति त मानसिक रोगी बन्न बाध्य भए होलान् भने आत्महत्याको सोच बनाउने धेरै नै थिए होलान् । म आफू त्यो ठाउँमा बसेर सोच्दा लाग्छ, त्यो लडाइँ मेरो लागिसमेत कठिन थियो ।
उनीहरू नेपाल आएको दिनदेखि कुन्नी कसले दियो मेरो नम्बर फोन गरे । यस्ता फोनहरूमध्ये बिरामी, खाना सकिएको, औषधि ल्याउनुपर्ने, रगत चाहिएको लगायतका धेरै आइरहन्थे, दिनमा नै करिब ४० र ५० जनाको केही न केही । यता पनि कामहरू हुन्थे । केही दिन त अरु कुनै व्यवस्था हुन्छ कि भनेर बसिरहेँ । सायद त्यो जिम्मेवारी स्थानीय सरकारको थियो होला ! हुन त हामी आम नागरिक सरकार हौँ । अप्ठेरो पर्दा सरकारलाई हामीले सहयोग गर्ने हो । हामीले गर्ने काम सरकारको भन्दा धेरै गुणा नगण्य नै हुन्छ तर त्यो समयमा शुरूवात गर्नै पर्ने थियो । यसरी भारतबाट आउनेमा कोरोना हुन्छ र त्यो आफूलाई सर्न सक्दछ भन्ने कारणले कोही पनि ती मानिस लिएर आउन तयार थिएनन् । अझ बाहिरबाट मानिसहरूले बहुत हतोत्साहित गर्थे यसरी जाँदा र आउँदा किनकि त्यसरी ल्याउनेलाई समेत कोरोना हुनसक्दछ र क्वारेन्टाइनमा बस्नु पर्दछ । यसरी उनीहरूको दैनिक तारन्तार १० र २० पटक फोन आइरह्यो अनि मैले अन्तिम दिनहरूमा भन्नैप¥यो “कोही आएन भने ढुक्क भएर बस्नू म आफैँ आउँछु ।“
बिहान ३ बजे जाने योजना बन्यो । म पनि सुरक्षित हुनु नै छ । मास्क, स्यानिटाइजर, लगायतका सुरक्षा अपनाउनै पर्ने । कसैले दिएको केही खान पनि डर । ४ वटा जम्बो बोतलमा पानी, रोटी, तरकारी र मह मेरो १ दिनको लागि राखी बिहान ३ बजे जाँदा राती ८ बजे बेनी आइपुग्छु भन्ने सोचेँ तर अनुभव नभएकैले यो सेड्युल मिलेन । जमुनाले ३ बजे उठेर तयार गरी प्याक गर्दिएको रोटी, तरकारी र मह औधी मीठो भयो । जाँदा बुटवल नपुग्दै खाना खाएँ, अलिकति रोटि साँझको लागि छुट्याएर ।
करिब ११ बजे बुटवल पुगियो। केही महिनाअगाडि कलेजो ट्रान्सप्लान्ट गरेको मित्र याम पाठकजीको घरमा जान मनलाग्यो । उहाँसँग पहिले १ पटक मात्र भेट भएको थियो । कोरोनाको लकडाउनको समयमा देख्न भेट्न मन लाग्यो, गएँ । करिब १० मिनेट बसेहुँला । उहाँ आफैँ रोगी भएकाले उहाँको घर पुरै सुरक्षित थियो भन्ने कुरामा विश्वास थियो तर म भने उहाँका लागि कुनै रिस्क लिन चाहिन र बाहिरबाट भेट भयो, टाढाबाट कुरा ग¥यौँ । केही बोतल पानी लिएँ अनि पूर्णिमा म्याडमले दिनुभएको हट्केस प्याक रोटी सेट लिएँ । साँझको समयमा खाएको बेजोड स्वादको त्यो खाना सायदै भुलिएला ।
मलाई फोन गर्ने क्वारेन्टाइन थियो ( नवीन मावि । नवीन माविको क्वारेन्टाइनमा बस्ने धेरै पोजेटिभ देखिएको भन्ने सुनेकाले अलि बढी डर लाग्यो । त्यो डर मेरो लागि उचित पनि थियो किनकि त्यही कारण आफ्नो सुरक्षा ख्याल गरिन्थ्यो । टाढैबाट गाडी चढाएँ । उनीहरूसँग मुख छोप्न पछ्यौरी रहेछ जसरी भारतीयहरू प्रयोग गर्दछन् । मैले मास्क, स्यानिटाइजर, ग्लब्स दिएँ र भनेँ कसैले खोल्न पाउँदैन । उनीहरूमै पनि एकार्कामा सर्न सक्दछ कि भन्ने डर थियो मलाई ।
तनाब त यसपछि पो सुरु भयो । म्याग्दीका अरु क्वारेन्टाइनमा पनि रहेछन । अनि भारतबाट नेपालको सीमामा आएर नेपाल प्रवेश गर्न लाइनमा समेत बसेका । अझ झापाबाट पोखरासम्म आउँदै र बेनी जानको लागि पोखराबाट म सँगै जानेगरी । कसरी थाहा भयो नम्बर ह्वारह्वार्ती फोन आउन थाल्यो । झापाबाट पोखरा आएका ७ जनाको गाडीभाडा बुझाउनुपर्ने छ, कति दिनदेखि खाना खाएको छैन भन्ने पीडा पोख्छन् म सङ्ग । लायन्सको साथी विनोदजीलाई पोखरा फोन गरेँ । उहाँ व्यस्त भएकाले पवित्रमणि सरसँग उहाँहरूको भेट गराएँ । भाडा पनि धेरै चर्को लिए । भाडाको रकम नगद, त्यसमाथि पानी र खाना राख्न र उनीहरूले नटिपेसम्म तल हेरिरहन पवित्रमणि सरलाई भनेँ । विचरा साथीहरू ! हार्नुहुन्न भनेर मैले भनेपछि त्यसै गर्नुभयो र टाढैबाट त्यो सबै हात पारेको देखेपछि उहाँ निस्कनुभयो । त्यो पैसा अलि पछि पठाइदिएँ उहाँलाई ।
नवीन मा.वि. पछि यता परासीनजिक खैरेनी क्वारेन्टाइन अनि पुनः नवीन मावि । बुटवलबाट गाडीमा केही सिट खाली राख्ने र पोखराबाट ७ जना लिएर बेनी आउने योजना बनेको थियो । कुश्माबाट मेयरको पिएले ४ जना कुश्मा ल्याइदिन अनुरोध गरे । आखिर सबैको संवेदना एउटै हो भन्ने लाग्यो । मेरो कम्लो मनले तिनलाई छोड्न मानेन । पोखरासम्म भए पनि लानुपर्छ भन्ने विचारले पर्वतको प्रहरीद्वारा म्याग्दीको प्रहरी मार्फत् अनुरोधसमेत भयो । पोखरासम्म त खाली नै छ लगिदिन्छु तर उहाँहरूले पोखरासम्म गाडी पठाउनुपर्छ भन्ने सम्झौता गरेर ती पनि राखियो । कुश्माका मान्छे राख्ने क्रममा पाएको दुःखका कारण म आफैँ थला पर्छु जस्तो भएको थियो । जेहोस् राती १०ः३० बजे पोखरा आइपुगियो । पोखरा प्रहरीले रोक्यो । ठूलो विवाद प¥यो । मैले प्रहरीसँग रुँदै धेरै कुरा पनि गरेँ । लिभरको अप्रेसन भएको मान्छे, आहारविहारका केही कुरा मेरो लागि बाध्यतामा छन् । त्यसैले पनि यस्तो वातावरण मेरो लागि निकै प्रतिकूल थियो ।
घरबाट बिहान ३ बजे हिँडेको बुटवल, भैरहवामा समेत धेरै तनाब झेल्नुपरेको थियो । खाना खाएको पनि थिइन । आफूलाई सुरक्षित राख्ने चुनौती छँदै थियो ( आफूलाई मात्र हेरेर मात्र पनि कहाँ भयो र ती ल्याएका मानिसहरूमा पनि एउटालाई छ भने अर्कोलाई नसरोस् भन्ने सुरक्षाको चुनौती छ । बाटामा धेरै ठाउँ चेकिङ छ । अझ विचरा प्रहरी ! १८ र २० घन्टा ड्युटी गर्दा दिक्क भएर होला रिसाउने अनि समयमा त्यहाँ इन्ट्री पनि नगर्दिने गर्थे । सबै कथा भनिदिनुपर्थ्यो अनि बल्ल पास गर्थे । मलाई बोल्न पनि गाह्रो भैरहेको थियो । म यसरी गएको मान्छेको यो हालत छ भने ती दुःख पाएका मान्छेहरू कसरी खटाएका छन् होला भन्ने लाग्थ्यो । बस् यही आधारले म सह्मालिइरहेको थिएँ । म्याग्दी क्याम्पसमा उनीहरूलाई व्यवस्थापन गरेर १५ दिनपछि घरमा पठाइयो । तीमध्ये १ जना कोरोना पोजेटिभ देखिए पनि निको भएर घरमा जानुभयो । सबैजनाको उद्धार सफलतापूर्वक गर्न सकियो । एउटा सानो मिसन पूरा भयो । उद्धार भै जानुभएकाहरूको मनमा के लाग्यो थाहा हुने कुरा भएन । आफुलाई यसबारेमा केही अनुभव भए पछि पछिल्लो पटक अलि सजिलो भयो कयौ पटक उहाहरु सङ्ग खेल्ने सौभाग्य पाए ।
संयमित हुँदै आत्मानुशासन कायम हुन सके कोरोनालाई सबैले जित्न सकिन्थ्यो । आत्मानुशासनको कमीले कोरोना बढ्दै गएको हो । आफ्नो लागि सोच्न सके पनि यो नियन्त्रण हुने थियो । सानो लापरवाहीले धेरै जनालाई असर गर्ने यो महामारीमा जो पीडित छन् उनीहरूलाई सहयोग र अरुका लागि चेतनाविस्तार आवश्यक देखिन्छ ।

You can share this post!

५९ कैदीबन्दीमा कोरोना

एसिड प्रहार गर्नेलाई नयाँ कानुन बनाइ कार्बाही गर्न ओलिको निर्देशन

Related posts
error: Content is protected !!