मितव्यायी भान्सा : यसो गरे कसो होला ?

तपाईंले हिसाब-किताब राख्नुभएको छ, दैनिक भान्सामा खर्च कति हुन्छ ? जस्तो कि, ग्यास, दाल, चामल, तेल, नुन, मरमसला, सागसब्जी, दूध, दही, मासु, पानी इत्यादि । दिनहुँ नभई नहुने सरसामान हामी भान्सामा उपभोग गर्छौं तपाईंको मनमा प्रश्न उठ्न सक्छ। भान्साको खर्च कसरी घटाउने ? घटाउनुपर्ने केही सरसामान छैन। साँझ-बिहान खान त परिहाल्छ ।

एक हिसाबले सही हो । भान्सामा हामी त्यही सरसामान प्रयोग गर्छौं, जो हामीलाई नभइहुन्न । बिहान चिया पिउनै पर्‍यो । त्यसपछि खाना, नास्ता । यसका लागि दाल-चामल चाहिन्छ नै । पकाउनका लागि ग्यास बाल्नैपर्छ ।

थाहै नपाई हुने खर्च

भान्साको खर्च कसरी घटाउने त ? हामीले भेउ पाइरहेका हुँदैनौं । सबै कुरा उपयोगी लाग्छ, सबै ठिकठाक लाग्छ । तैपनि भान्साको खर्च बढिरहेकै हुन्छ ।

हामीलाई के कुरा हेक्का हुँदैन भने, भान्साबाट हामी धेरै खानेकुरा नष्ट गरिरहेका हुन्छौं । आवश्यकताभन्दा बढी पकाउने, राख्ने, बासी भएपछि फ्याक्ने । त्यसैगरी जुठो बनाएर पनि धेरै खानेकुरा हामी नष्ट गरिरहेका हुन्छौं ।

अर्कोतिर हामीले त्यस्ता धेरै खानेकुरा खरिद गरेर ल्याउँछौं, जो लामो समय राख्न वा टिकाउन सकिदैन । उचित ढंगले भण्डारण गर्न नसक्दा पनि धेरै खानेकुरा कुहिएर वा सडेएर नष्ट हुन्छ । जस्तो हामी सागसब्जी ल्याउँछौं । तर, त्यसलाई उचित ढंगले राख्न सक्दैनौं । सागसब्जी केही दिनमै कुहिन थाल्छ । आखिरमा ती सागसब्जी खानै नहुने हुन्छ ।

त्यसो त खानेकुरा पकाउने क्रममा कुन सामग्री कति आवश्यक हो सोच्दैनौं । प्याज, गोलभेडा, सलाद आदि आवश्यकभन्दा बढी ताछेर वा काटेर छाड्छौं । यसरी काटेर छाडिएको कुरा चाँडै सड्न थाल्छ ।

ग्यास चुलो बालेपछि पनि हाम्रो समय अलमलमा बित्छ । कुन परिकार कतिबेला बनाउने, त्यसका लागि के-कस्ता सामग्री आवश्यक छ र ती सामग्री तयार छ वा छैन भनेर सोच्दैनौं । यसरी योजनाबद्ध ढंगले खानेकुरा पकाउन नजान्दा ग्यास वा समय त्यसै नष्ट हुन्छ ।

के गर्न सकिन्छ ?

हुन त यी अत्यन्तै सानातिना कुरा हुन्। तर, सानातिना कुराले नै घरको व्यायभार बढाइरहेको हुन्छ । त्यसैले सामान्य लागेपनि यी कुराहरूको राम्रो बन्दोबस्ती वा व्यवस्थापन गर्न सकियो भने भान्साको खर्च कम गर्न सकिन्छ ।

जस्तो कि खानेकुरा कति आवश्यक हो, त्यति मात्र पकाउने वा तयार गर्ने । बासी बनाएर वा जुठो बनाएर नष्ट नगर्ने । यदि जुठो वा बासी भएमा उक्त खानेकुरा चराचुरुंगी वा सडकका कुकुर आदिलाई दिन सकिन्छ । त्यो पनि सहज नभएमा यसरी सडेका, कुहिएका, जुठो भएका खानेकुरालाई खाल्डोमा, डस्बिनमा आदिमा राखेर मल बनाउन सकिन्छ ।

सागसब्जीहरू सकेसम्म ताजा र आवश्यक मात्रा ल्याउने र खाने गर्नु उचित हुन्छ । एकै पटकमा धेरै सागसब्जी खरिद गर्ने भन्दा पनि आवश्यकताअनुसार पटकपटक सागसब्जी खरिद गर्नु राम्रो हो । यसले गर्दा ताजा सागसब्जी खान पाइन्छ । अर्कोतिर स्वाद पनि फेर्न पाइन्छ । यदि सागसब्जी सड्ने अवस्थामा भयो वा खेरो जाने भएमा त्यसलाई गुन्द्रुक वा यस्तै वैकल्पिक रुपमा प्रयोग गर्न सकिन्छ ।

यसरी नै एकै पटकमा प्रयोग गर्न नसकिएका सलादलाई अचार बनाउन सकिन्छ । दूध बाँकी रहेमा दही जमाउन सकिन्छ । दूध फाटेमा त्यसबाट पनिर वा अन्य परिकार बनाउन सकिन्छ ।

यसरी कुनैपनि कुरालाई सोझै नष्ट हुनबाट बचाउन सकिन्छ ।

जे मल बन्छ

धेरैजसोले भान्सामा सडिएका, कुहिएका खानेकुरालाई डस्बिनमा मिल्काउँछन् । सहरी क्षेत्रमा यसैपनि फोहोर व्यवस्थापन गर्न कठिन छ । त्यसमाथि प्लाष्टिकजन्य फोहोर र कुहिने फोहोर एकै ठाउँ मिसाएपछि फोहोर मैला बढ्ने नै भयो ।

कतिपनि गाह्रो छैन, एउटा सानो भाँडा वा प्लाष्टिक राख्ने । त्यसमा कुहिएका सागसब्जी, फलफूल, जुठो भात आदि राख्ने । त्यसैगरी सागसब्जी तासेर बाँकी रहेको बोक्रा, चियाको खोस्टा आदि राख्ने । १०-१५ दिनमै यो मल बन्छ ।

चामल पखालेको पानी वा सागसब्जी धोएको पानी छुटै बाल्टिनमा राखेर सागसब्जी वा फूलहरूमा प्रयोग गर्न सकिन्छ ।

यसरी नष्ट हुने वस्तुको व्यवस्थापन गर्न सकिन्छ ।

करेसाबारी बनाउने

धनिया, गोलभेडा, खुर्सानी, पुदिनालगायत सामान्य सागसब्जी हामी गमलामा उमार्न वा उत्पादन गर्न सक्छौं । कौसी वा छतमा पनि खेती गर्न सकिन्छ । करेसाबारी भए त अरू गजब हुन्छ ।

अतः भान्साबाट निस्कने फोहोरलाई मलको रुपमा प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ । यसरी आफ्नै हातले रोपेको ताजा, शुद्ध, अर्ग्यानिक खानेकुरा पनि खान पाइन्छ ।

यसरी सामान्य ढंगले पनि हामीले भान्सालाई उचित व्यवस्थापन गर्न सक्छौं । भान्साको खर्च घटाउन सक्छौं।

केही त गर्नैपर्छ

अहिले कोरोना भाइरसको संक्रमण फैलिदै गर्दा सर्वत्र लकडाउन गरिएको छ । यसले खेतीपाती एवं उद्योगधन्दामा प्रत्यक्ष असर गरेको छ । अहिले नेपाल मात्र होइन, विश्वकै कृषि उत्पादनमा अवरोध भएको छ। खेती किसानीको काम नियमित भएको छैन। लकडाउनकै कारण कतिपय किसान, साना उद्यमीले नराम्ररी घाटा व्यहोर्नुपरेको छ। अर्कोतिर काम गर्ने मजदुर एवं श्रमिकहरू पनि अहिले अभाव छ। यसले प्रत्यक्ष रुपमै अन्नबाली उत्पादनमा असर परेको छ ।

एकातिर कृषि उत्पादन घट्नु र अर्कोतिर उद्योगधन्दाहरु बन्द हुनुले भोलिका दिनमा खाद्य संकट आउने जोखिम छ । त्यससँगै बजारमा महंगी बढ्ने सकेत देखिएको छ ।

अर्कोतिर धेरैले रोजगारी गुमाएका छन् । उद्योग धन्दाबाट नोक्सानी भएको छ । यसरी मान्छेको खर्च गर्ने क्षमता घट्दो छ ।

यस्तो अवस्थामा हामीले भड्किलो जीवनशैली, फजुल खर्च कटौती नगरी सुखै छैन । घरलाई सकेसम्म मितव्यायी बनाउनुपर्ने अवस्था छ । यसको सुरुवात भान्साबाटै किन नगर्ने ?

You can share this post!

करिअरमा परिवर्तन खोज्दैछिन् साम्राज्ञी ?

रेडजोनमा किटको हाहाकार, संसदमा ४४१ को खकार !

Related posts
error: Content is protected !!